(१) कुनै उत्पादन नेपालमा बिक्री गरिनु अघि उत्पादक वा वितरकले तोकिए बमोजिमको दर्खास्त साथ त्यस्तो उत्पादनको लेवल स्वीकृतिको लागि समिति समक्ष पेश गर्नु पर्नेछ ।
(२) नेपालमा बिक्रीमा ल्याई सकेको उत्पादनका हकमा यो ऐन प्रारम्भ भएको मितिले नब्बे दिन भित्र उत्पादक वा वितरकले त्यस्तो उत्पादनको लेवलको लागि समितिको स्वीकृति लिनु पर्नेछ ।
(३) उत्पादनको लेवल उत्पादनको उपयुक्त प्रयोग बारे आवश्यक जानकारी दिने र स्तनपानलाई दुरुत्साहन नगर्ने किसिमले तयार गरेको हुनु पर्नेछ ।
(४) उत्पादनको लेवल वा भाँडोमा तयारी गर्ने तरिका व्याख्या गर्ने ग्राफीक बाहेक कुनै तस्वीर, नक्सा वा अन्य प्रतिरुप देखाउनु हुँदैन ।
(५) उत्पादनको लेवलमा उत्पादक तथा सम्भव भए वितरकको पनि नाम र ठेगाना हुनु पर्नेछ ।
(६) आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु वा यो ऐनको परिधि भित्र पर्ने अन्य दुग्ध पदार्थको भाँडोमा वा भाँडाबाट छुट्टिन नसक्ने लेवलमा नेपाली भाषामा देहायका सबै जानकारी सहितको सफा, स्पष्ट एवं सजिलै संग बुझ्न सकिने सन्देश छापिएको हुनु पर्नेछः–
(क) जरुरी सूचना भन्ने शब्दहरु वा त्यस्तै किसिमको अन्य कुरा,
(ख) बच्चाहरुको लागि स्तनपान सबैभन्दा असल दूध हो भन्ने व्यहोरा,
(ग) आवश्यकता र प्रयोग गर्ने तरिकाको सम्बन्धमा स्वास्थ्य कार्यकर्ताको सल्लाह बिना उत्पादन प्रयोग गर्न नहुने व्यहोरा,
(घ) सजिलै संग बुझ्न सकिने ग्राफीक वा शब्दमा उपयुक्त तयारी गर्ने निर्देशन र
(ङ) प्रत्येक महीना बच्चालाई राम्ररी खुवाउन आवश्यक आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु वा अन्य दुग्ध पदार्थको परिमाण ।
(७) मानवीकरण, जननीकरण वा त्यस्तै किसिमको अन्य शब्दहरु प्रयोग गर्नु हुँदैन ।
(८) बालसूत्रको सबै पोषण आवश्यकता पूरा नगर्ने तर त्यसको लागि परिवर्तन गर्न सकिने प्रकारको दूधको लेवलमा वा भाँडोको बाहिरबाट देखिने गरी राखिएको कुनै चिजमा सो उत्पादन मात्र बच्चाहरुको पोषणको एकमात्र श्रोत हुन नहुने र स्वास्थ्य कार्यकर्ताको दिग्दर्शन
बमोजिम बाहेक बच्चाहरुलाई खुवाउन प्रयोग गर्न नहुने चेतावनी हुनु पर्नेछ ।
(९) गुलियो पारेको जमाएको (स्वीटेन्ड कन्डेन्स) दूधको लेवलमा यी बच्चालाई खुवाउनको लागि प्रयोग गर्नु हुँदैन भन्ने सफा र स्पष्ट चेतावनी हुनु पर्नेछ ।
(१०) दूधदानी र मुन्टो बाहेक अन्य उत्पादनको लेवलमा देहायका कुराहरु पनि उल्लेख हुनु पर्नेछ–
(क) साधकहरु,
(ख) उत्पादनको विश्लेषण र बनावट,
(ग) सञ्चय गर्दा पालन गर्नु पर्ने शर्त,
(घ) ब्याच संख्या, संचय स्थिति, उत्पादन मिति र मौसमी अवस्थालाई विचार गरी उत्पादन उपभोग गरी सक्नु पर्ने मिति ।
(११) दूधदानी र मुन्टोको लेवलमा उत्पादक तथा वितरकको नाम र ठेगानाको अतिरिक्त आमाको दूध नै बच्चाहरुको निमित्त सवैभन्दा असल दूध हो र शिशिबाट ख्वाउनु भन्दा कचौरा र चम्चाबाट ख्वाउनु सुरक्षित छ भन्ने कुरा उल्लेख हुनु पर्नेछ ।